काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको छ । देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागरिहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आजराति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।