काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत आज बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि हिजो बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनाले सुझाव प्रस्तुत गर्नुभएको हो । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भएता पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहको संख्या २४ बनेको छ । लेखा, अनुशासन र निर्वाचन गरी तीन वटा आयोगको प्रतिवेदन भने भोलि शुक्रबार दिउँसो १ बजेपछि प्रस्तुत हुने भएको छ ।

ज्येष्ठ कम्युनिस्ट मञ्चबाट नन्दकुमार प्रसाई, सल्लाहकारबाट नन्दबहादुर थापा, जनवर्गीय संगठनबाट सुरेश आले मगर, गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा, सुदूपश्चिमबाट मानबहादुर धामी लगायतका टोली नेताहरुले राजनीतिक प्रतिवेदनमाथि सुझाव पेश गर्नुभएको हो । भोलि शुक्रवार तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने कार्यक्रम रहेको छ । प्रत्येक समूहलाई सुझाव पेशका लागि १५ मिनेटको समय निर्धारण गरिएकोमा सो अवधिभित्र पेश हुन नसकिएका सुझावहरु लिखितरुपमा पनि सङ्कलन गरिएको छ । सुझाव सङ्कलनका क्रममा पार्टीका नेताहरुबाट आएका फरक मतलाई पनि सहयोगी सुझाव अन्तर्गत नै राखिएको छ ।

राजनीतिक प्रतिवेदनमाथिको सुझावमा मुख्यतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विचारको संश्लेषण, नेतृत्व केन्द्रीकरण लगायत विषय उठेको र यसका कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने विषयमा छलफल भएको छ । यसैगरी, सुझाव सङ्कलनको क्रममा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनबिना पास हुन नहुने र देशका विभिन्न राजनीतिक दलमाथि हेर्ने दृष्टिकोण प्रष्टरुपमा आउनुपर्ने विषयहरु उठेको जनाइएको छ ।