काठमाडौं – गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होसार’ हर्षोल्लासका साथ मनाइदै छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलने छ । पुष महिनाको कठ्याङ्ग्रीदो चिसो मौसमको पर्वाह नगरी सडकमा आफ्नो भेषभूषा सहिति ढाडो भाखाको गीत सङ्गीतमा रम्दै टुँडिखेल भेलाभै रमाइलो गरिरहेका छन् ।


‘तमु ल्होसार’ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । गुरुङ समुदायका मानिसहरू आफ्नो धर्म संस्कृति परम्परा अनुसार विभिन्न वेषभूषा र झाँकीसहित टुँडिखेलमा जम्मा भएर ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।



‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदै आएका छन् । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले जनाएको छ । ‘तमु ल्होसार’ पर्वको अवसरमा नेपाल सरकारले आज मुलुकभर सार्वजनिक बिदा समेत दिएको छ ।