फाइल तस्वीर
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । युक्रेनको विषयलाई लिएर बढ्दै गएको तनाव अन्त्य गर्ने प्रयास स्वरुप यी दुई राष्ट्र प्रमुखबीच वार्ताको हुन लागेको हो । यस अघिपनि दुर्व राष्ट्राध्यक्षबीच युक्रेनको विषयमा छलफल भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले आज बिहीबार टेलिफोनमार्फत् रुसी समकक्षी पुटिनसँग वार्ता गर्ने समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच केहीसमय पछि हुनलागेको सुरक्षा वार्ता तथा युरोपको अवस्थबारे छलफल हुने राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा आफ्ना सैनिकबललाई तैनाथ र क्षमता बिस्तार गर्दै लगेको छ । रुसमाथि युक्रेनमा सैन्य आक्रमणको तयारी गरेको आरोप छ । युक्रेनका सुरक्षा अधिकारीका अनुसार सीमा क्षेत्रमा रुसले एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । तर रुसले भने सो कुरा बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले आफ्ना सैनिकहरु अभ्यासका लागि सीमा क्षेत्रमा गएको र आफ्नो सीमा भित्र सैनिक स्वतन्त्र रुपमा हिँड्डुल गर्न पाउने बताउँदै आएको छ ।

युक्रेनमाथि रुसको सम्भावित सैन्य गतिविधिका सम्बन्धमा सामूहिक धारणा तय गर्न अमेरिकाले युरोपका नेताहरुसँग यस अघि छलफल गरेको थियो । अमेरिकाले रुसलाई चेतावनी दिंदै युक्रेनमाथि सैन्य आक्रमण गरेमा अहिलेसम्म कसैले नभोगेको–नदेखेको प्रतिबन्ध लगाउने भनेकोे छ ।
अमेरिका र रुसबीच युक्रेनको विषयलाई लिएर लामो समयदेखि मतभेद जारी छ । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको नेतृत्व सम्हालेपछि रुसी राष्ट्रपति पुटिनलाई बेलाबेलामा फकाउने र धम्क्याउने कुटनीति अस्त्र प्रयोग गर्दै आएका छन् । बिहीबारको वार्तामा तनाव कम गर्नका लागि बाइडेनले कूटनीतिक मार्ग प्रदान गर्ने तर सीमा क्षेत्रमा रुसी सैनिकको उपस्थितिलाई लिएर गम्भीर चासो भने कायम रहेको जनाइएको छ ।