काठमाडौं – राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनबाट नेकपा माओवादी केन्द्रले पार्टीको अध्यक्षसहित केन्द्रीय समितिमात्रै चुन्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । हिजोदेखि बुधबार १४ वटा समूहले अध्यक्षको प्रतिवेदनमाथि टिप्पणी सहित सुझाव दिएका छन् भने आज बाँकी ११ वटा समूहको सुझाव पेश हुने छ । समूहगत रुपमा प्राप्त सुझावहरु र टिप्पणीप्रति अध्यक्षले जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि प्राप्त सुझावहरुलाई समेटेर महाधिवेशनले अध्यक्षको राजनीतिक प्रतिवेदनलाई पास गर्ने छ ।
अध्यक्ष प्रचण्डबाट पेश भएको राजनीतिक प्रतिवेदनमा उल्लेख भएको कतिपय विषयहरु महत्वपूर्ण छन् भने कतिपय विषयहरु कार्यान्वयन गर्न सक्ने अवस्थामा नरहेको प्रतिनिधि कार्यकर्ताहरुको भनाइ छ । नेकपा माओवादीले आफुलाई पुरानै सोचमा लैजान चाहेको प्रतिवेदनमा उल्लेख त गरिएको छ, तर यो सम्भावना ज्यादै न्यून देखिन्छ । खुला राजनीतिमा आएको पछि माओवादीका नेता कार्यकर्ता विलाशी जीवनमा चुर्लुम्म डुबेकाले अब १३ वर्ष अघिको धङ्धङीमा बस्नु बाहेक केही रहँदैन । राजनीतिक प्रतिवेदनको अन्तरवस्तु के त भन्ने नै कुरा प्रतिवेदनमा उल्लेख गरिएको देखिंदैन ।
अध्यक्ष प्रचण्डले जसरी आफुलाई परिमार्जित र व्यवहारिक बनाउने कुरा प्रतिवेदनमार्फत् आत्मसमीक्षा गर्नुभएको छ, त्यो महाधिवेशन सकिएकै दिनबाट रद्दिको टोकरीमा मिल्किने निश्चित छ । कार्यकर्ताहरुलाई अध्यक्षको प्रतिवेदनले नयाँ सञ्चार त गराएको छ, तर व्यवहारमा कति लागूहुन सक्छ भन्ने कुराको पनि हेक्का राखिएको देखिंदैन । आजै स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको संशोधित विधान पारित गर्ने कार्यसूची रहेको छ । अध्यक्षको राजनीतिक प्रस्तावलाई केही संशोधन र परिमार्जन गरेर महाधिवेशनले पास गर्नेछ । अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै संशोधित विधानबारे अहिले बन्दसत्रमा छलफल चलिरहेको छ । संशोधित विधानमा केही थप संशोधन परेको छ । उक्त संशोधनसहित विधानसमेत आजै पारित गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने निश्चित छ । अहिलेसम्म अध्यक्षमा कसैले दावी गरेको छैन र प्रचण्डलाई पार्टीलाई अलपत्र पारेर बीचमै नेतृत्व छाड्न नपाइने भन्दै नेता कार्यकर्ताहरुले दबाब दिंदै आएका छन् । त्यसो त अध्यक्षका आकाङ्क्षी समेत नदेखिंदा पार्टीको भावि नेतृत्वमा प्रचण्डनै रहने पक्का छ ।

महाधिवेशनबाट अध्यक्ष प्रचण्डसहित केन्द्रीय समितिमात्रै चयन गर्ने भएको छ । पार्टीमा विवाद र गुटको प्रभाव नदेखियोस् भनेर नेतृत्वले चलाखिपूर्ण कार्य गरेको छ । पदाधिकारी पदमा महत्वाकाङ्क्षीहरु धेरैदेखिएको र अध्यक्षले कसैलाई च्याप्दा बाहिर नकारात्मक सन्देश प्रवाह हुन सक्ने बुझेर नै अध्यक्षको चाहना अनुसार पदाधिकारीको बारेमा केन्द्रीय समितिले निर्णण गर्ने कुरा अघि सारिएको हो । महाधिवेशनबाट चुनेको केन्द्रीय समितिले मात्रै बाँकी पदाधिकारी टुङ्ग्याउने भएको छ

महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको छ । कम्युनिस्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा चल्ने भएकाले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यबाहेक अन्य पदाधिकारी निर्वाचित नगर्ने भएको हो । काङ्ग्रेस र एमालेमा जस्तो माओवादी केन्द्रमा पदाधिकारीहरु महाधिवेशनबाट निर्वाचित नहुने भएको छ ।

विशेषत महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई केन्द्रीय समितिले कारबाही गर्न सक्दैन । त्यस्ता व्यक्तिलाई कारबाही गर्न अर्को महाधिवेशनसम्म पर्खनु पर्ने भएकाले पनि नेतृत्वले अहिले पदाधिकारी निर्वाचित गराउन नचाहेको महाधिवेशन प्रतिनिधिहरुको बुझाइ छ । केन्द्रीय समितिको बैठकबाट पदाधिकारीमा जिम्मेवारी दिइएका व्यक्तिको कार्य सन्तुष्ट हुन नसकेमा केन्द्रीय समिति त्यस्ता पदाधिकारीलाई हटाउन सक्ने र अर्को पदाधिकारी नियुक्त गर्ने अधिकार केन्द्रीय समितिमा रहन्छ । मुलतः कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयताको आधारमा चुनिएको नेतालाई जिम्मेवारी दिइन्छ । सारमा यस्तो अवधारणा रहेका पनि भित्रिकुरा भनेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई पूर्ण रुपमा आफ्नो पकडमा राख्न चाहेको पनि देखिन्छ ।