भक्तपुर – भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भई काठमाडौँ शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटना भएलगत्तै घाइते भएका तीनै जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको बताइएको छ ।