काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य रहेको बताउनुभएको छ । तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको जनाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरू भएको सङ्केत गर्दछ । यस समुदायले आज पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ । सन्देशमा भनिएको छ मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ ।