काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार भने देशभर आंशिक बदलीको सम्भावना रहेको छ । बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।