काठमाडौं– जनवादी राज्यसत्ता स्थापना गर्ने सपना बोकेर जनयुद्ध लडेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मूलधारको राजनीतिमा आएपछि उसले बोकेको सिद्धान्त, विचार, कार्यदिशा, कार्यनीतिमा खिया लागेको र सबै किसिमले माओवादी खुइलिंदै गएको भन्ने आरोप उसकै कार्यकर्ताले भन्दै आएका छन् । यथार्थमा त्यो देखिएको पनि छ । यसैबीच नेकपा माओवादी केन्द्रको चालु आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेपाली समाजवादी क्रान्तिको सिद्धान्त, रणनीति, कार्यनीति र कार्यदिशाबारे व्याख्या गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको जारी आठौं महाधिवेशनको बन्दसत्रमा पेश गर्नुभएको ‘एक्काइशौं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’ शीर्षको राजनीतिक दस्तावेजमा पार्टीको सिद्धान्त, कार्यदिशा र कार्यनीति बारे उल्लेख गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको दस्तावेजमा पार्टीको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद–माओवाद’ भएको स्पष्ट गरिएको छ । आजको ऐतिहासिक परिस्थिति अनुसार यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको भनी उल्लेख गरिएको छ । नेपाली जनताको विकासको आजको विशिष्ट पुँजीवादी चरणमा पार्टीको रणनीतिले वैज्ञानिक समाजवादको स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताउँदै अध्यक्ष प्रचण्डले प्रतिवेदनमा राष्ट्रिय पुँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पुँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव छैन’ भन्ने कुरा उल्लेख गर्नुभएको छ ।

तत्काल समाजवादमा जान सम्भव नरहे पनि शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार गर्न लागिपर्ने भन्दै ‘तत्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ भनी प्रतिवेदनमा लेख्नुभएको छ । उक्त प्रतिवेदनमा ‘त्यसकारण आज पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ भनिएको हो । समाजवाद उन्मुख समृद्धि भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पुँजीको विकास प्रक्रियालाई बुझ्नु पर्ने भनी अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

प्रचण्डले बन्दसत्रमा पेश गर्नुभएको दस्तावेजमा ‘वर्ग–सङ्घर्षको विकास र राजनीतिक शक्ति–सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्ने तुलनात्मक रूपले लामो समय जाने पार्टीको मूल कार्यनीति ‘समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु’ हो । यस अन्तर्गत राष्ट्रिय पुँजीको विकास गर्ने, सामाजिक न्याय स्थापित गर्ने, सामन्ती अवशेष र दलाल–नोकरशाही पुँजीवादलाई परास्त गर्ने, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, संविधानको कार्यान्वयन, निर्वाचन प्रणालीमा सुधार, शासकीय स्वरूपमा परिवर्तन र उत्पीडित वर्ग समुदायको पहिचान र अधिकार बढाउने गरी संविधान परिमार्जन गर्दै जाने, स्थानीय र समुदायको स्तरबाट नै विकास, निर्माण र आर्थिक समृद्धिका लागि समाजवादका भ्रूणका रूपमा उत्पादन र श्रम इकाईहरूको विकास गर्ने, पार्टी, सरकार र जनताका बीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउँदै लैजाने, उत्पीडित वर्ग, जाति, क्षेत्र, र लैङ्गिक समुदायको पहिचान र अधिकार स्थापित गर्ने मुद्दालाई अगाडि बढाउने, शान्तिप्रक्रियाका बाँकी काम पुरा गर्ने, सहिद र बेपत्ता योद्धाहरूलाई सम्मान गर्ने तथा उनीहरूका परिवारलाई समुचित राहत उपलब्ध गराउने, घाइते–अपाङ्गको उपचार र रोजगारीको व्यवस्था गर्ने जस्ता नीति, योजना र कार्यक्रम पर्दछन् ।’

समाजवादको आधार तयार पार्ने प्रयास असफल बनाउन सबै खाले प्रतिक्रियावादी, दलाल तथा अवसरवादी तत्त्वहरू लागि पर्ने देखिएको भन्दै प्रचण्डले त्यसखालको षड्यन्त्रको प्रतिवाद गर्ने उल्लेख गरेका छन् । ‘राजनीति, संगठन, जन–सम्बन्ध र विकास निर्माणका कामद्वारा प्रतिक्रियावादी षडयन्त्रको प्रतिवाद गर्दै समाजवादको आधार तयार पार्ने कामलाई योजनाबद्ध र दृढतापूर्वक सफल पार्नु पर्दछ’, भनी अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।