काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र अन्तर्गत सोमबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेश गर्नुभएको वैचारिक तथा राजनीतिक दस्ताबेजमाथिको समूहगत छलफल भोलि मात्रै सकिने भएको छ ।

समूहगत छलफलका लागि आज दिनभरको समय दिइएको थियो । तर, केही समूहले अझै छलफल नसकाएकाले गर्दा भोलि बुधबार मध्याह्न १२ बजेसम्मको लागि समय थप गरिएको बताइएको छ ।

भोलि दिउँसो १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भोलि संयोजकले समूहगत छलफलको निष्कर्ष नेताहरु समक्ष प्रस्तुत गर्ने जानकारीमा आएको छ । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।