काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।


माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो प्रतिवेदनमाथि २५ समूह बनाइ छलफल भइरहेको छ । प्रतिवेदनमाथि समूहगत छलफल पार्टी कार्यालय पेरिसडाँडा र महाधिवेशनस्थल कमलादीमा भैरहेको छ । भोलि बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहबाट निस्केका निष्कर्षहरुलाई प्रत्येक समूहका संयोजकहरुले बन्दसत्रमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।