काठमाडौं– दुई कम्युनिस्ट पार्टीबीच पार्टी एकता भएको छ । राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित दुई पार्टी एकताको कार्यक्रममा एमालेबाट चोइटिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच मङ्गलबार यी पार्टी एकता भएको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा(एकीकृत समाजवादी) । देवेन्द्रसिंह महताले नेतृत्व गर्नुभएको नेकपा जनवादीबीच एकता भएको हो । महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा सङ्गठित भएको पार्टी हो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीहरु जुट्ने र फुट्ने श्रृङ्खला चलिरहने नियमित प्रकृया बनेको छ । नेपालमा कम्युनिस्ट पार्टीको मोह आम नागरिकमा अझै कायम छ । वर्तमान संसद्मा मात्र होइन स्थानीय सरकारमा पनि कम्युनिस्टहरुको बाहुल्यता छ । कम्युनिस्ट सबै पार्टीहरु मिल्ने हो भने देशको केन्द्रदेखि स्थानीय सरकारमा कम्युनिस्टहरुको बर्चश्व हुन्छ । तर पनि कम्युनिस्टहरु मिल्न नसक्दा गैह्रकम्युनिस्ट शक्तिहरु हावी भैरहेका छन् । आज मङ्गलबार भएको नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीचको एकताले कम्युनिस्ट पार्टीहरु एक हुनु आवश्यक छ भन्ने सन्देश जाने नेताहरुको भनाइ रहेको छ ।