काठमाडौं– नेकपा माओवादी केन्द्रको चालु आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रस्तुत गर्नुभएकोे राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष प्रचण्डले ‘एक्काइशौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ भन्दै वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन पेश भएपश्चात् उक्त प्रतिवेदनको अध्ययन, छलफल र सुझाव पेश गर्नेगरी २५ वटा समहू बनाइएको थियो ।

आज मङ्गलबार उक्त प्रतिवेदनमाथि २५ वटै समूहहरुले तोकिएका विभिन्न ठाउँमा गै अध्ययन र विस्तृत छलफल गरिरहेका छन् । तीनवटा समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा भइरहेको छ भने कुनै समूहको महाधिवेशन स्थलमा अध्ययन र छलफल भैरहेको छ । प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष आज साँझसम्म आउने अनुमान गरिएको छ । आज छलफलको सबै निष्कर्ष आउन नसके भोलिसम्म आइपुग्ने बताइएको छ । महाधिवेशन १५ गतेसम्म हुने छ ।