काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आजदेखि बन्दसत्र हुने भएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहान ११ बजेदेखि बन्दसत्र सुरु गर्न लागेको हो । बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । बन्दसत्रमा अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि गहन छलफल हुने र पार्टीको आगामी कार्यनीतिका साथै पार्टीको २५ वर्षको समीक्षा पनि गरिने बताइएको छ ।


माओवादी केन्द्र पुनः बहुपदीय प्रणालीमा जान लागेको छ । माओवादी केन्द्रको साङ्गठनिक संरचना नयाँ बन्दैछ । पन्ध्र सदस्यीय पदाधिकारी सहित केन्द्रीय सदस्य बनाइने भएको छ । नयाँ बन्ने संरचनामा पहिलो पटक वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद सिर्जना गर्न लागेको माओवादी केन्द्रले नेताहरुको व्यवस्थापनको लागि ६ वटा उपाध्यक्ष बनाउने भएको छ । त्यसैगरी केन्द्रीय समितिलाई २९९ बाट बढाएर ३९९ सम्म बनाउन सक्ने सम्भावना रहेको छ ।


राष्ट्रिय सम्मेलनलाई अन्तिमदिन आएर राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको माओवादी केन्द्रको महाधिवेशन सामान्य देखिएको छ । हिजो विशाल बनेको पार्टी हिजोको कार्यदिशाबाट विमूख बन्दै जाँदा खुम्चिन पुगेको छ । जनयुद्धको विराशत लिने पार्टीको अवस्था आज दयनीय बन्दै गएको छ । पार्टी चिराचिरा भएको छ । दशवर्षे सशस्त्र युद्धका सहकर्मीहरुलाई छोडेर अध्यक्ष प्रचण्डलगायतका माथिल्लो तहका नेताहरु भौतिक विलाशितामा चुर्लुम्म डुब्दा पार्टीमा शिला खोज्नु पर्ने अवस्था देखिंदैछ । हिजोका कार्यदिशाहरुमा फर्किने प्रहशनात्मक अभिव्यक्ति अध्यक्ष प्रचण्डबाट आएता पनि अब के माओवादी केन्द्रको नेतृत्वपङ्ती पुरानै विराशतमा पुग्ला त ! पुग्दैन र अब सम्भव पनि देखिंदैन । माओवादी केन्द्रका नेता कार्यकर्ता अब भौतिक विलाशिता त्यागेर जनताको दुःख सुखको पार्टी बन्ला ! हिजोसँगै रहेका र पछि पार्टी प्रचण्डलाई छोडर गएकाहरु पुनः पार्टीमा फर्किन्छन् भन्नु फलामको च्युरा चपाए सरह हुनेछ ।


माओवादी केन्द्रको चालु राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रतिवेदनमा आफु र पार्टीलाई पुरानै अवस्थामा ल्याउने र पार्टी विभाजन भै गएका जनयुद्धका सहकर्मी योद्धाहरुलाई सङ्गठित गर्ने कुरा त गर्नुभएको छ । तर यो कोरा कल्पना मात्रै हुनेछ । कागजमा जे बोले पनि अब व्यवहारमा त्यस्तो हुन सक्दैन । पार्टीमा एकछत्र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अध्यक्ष प्रचण्डले ‘माओवादी पार्टी भनेकै प्रचण्ड हो र प्रचण्ड भनेकै माओवादी पार्टी हो’ भन्ने शैलीको व्यवहारले आज पार्टी यो हविगतमा पुगेको हो भन्नुमा अत्युक्ति नहोला ।
मूलधारका राजनीतिक पार्टी र माओवादी केन्द्रबीचको भिन्नता के त ! भनेर आम जनताले छुट्याउने ठाउँ छैन । खुला राजनीतिमा आएको माओवादी ११ पटकसम्म सरकारमा सामेल भयो । तीन पटक आफ्नै नेतृत्वमा सरकार चलायो । तर जनअपेक्षित काम गर्न सकेन । सरकारमा पुगेपछि सहिद, अपाङ्ग, बेपत्ता परिवारका मुद्धा सेलाउँदै गए ।


अर्कोकुरा अध्यक्ष प्रचण्डले पार्टीमा आफ्नो एकछत्र राज गर्दा आफुपछिको नेतृत्व विकास गर्नेतिर ध्यान नदिएको आरोप पनि छ । जुन सत्य सावित हुँदै गएको छ । पार्टीमा नेतृत्व विकास गर्नेतर्फ न अध्यक्ष प्रचण्ड लाग्नु भयो न त दोस्रो तहका नेताहरु नै । दोस्रो तहका नेताहरु प्रचण्डलाई कसरी खुसी पार्ने र सामिप्यमा पुग्ने अनि लाभ लिनेभन्दा माथि उठ्न सकेनन् । त्यसैले पनि माओवादीमा पार्टी र देशको राजनीतिलाई हाँक्न सक्ने नेताको अभाव छ । यो गतिले नेकपा माओवादी केन्द्रको आगामी भविष्य के त ? भन्ने प्रश्न उठेको छ ।


चौतर्फी रुपबाट आक्रमणको शिकार बन्दै आएको नेकपा माओवादी केन्द्रको चालु आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने भनेता पनि त्यो कत्तिको सम्भव छ त ! के पार्टी अध्यक्ष प्रचण्डले चाहेर मात्रै पार्टी शुद्धीकरण र सुदृढीकरण सम्भव छ ? मूलधारका पार्टीभन्दा आफुलाई पृथक र जनपक्षीय पार्टी बनेर देखाउन अब माओवादी केन्द्रले माथिदेखि तलसम्म आफुलाई परिमार्जन गर्नुको विकल्प छैन ।
त्यसो त आज देश माओवादीले उठाएकै एजेण्डामा चलेको छ । संविधान, सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व नेकपा माओवादीकै देन हुन् । तर आज यी एजेण्डा अरुपार्टीले आफ्नो स्वामित्व लिंदैछन् । यस्को मूल कारण भनेको नेकपा माओवादीको शक्ति क्षयीकरण, विलाशी जीवनशैली, पार्टीको कार्यदिशा र कार्यनीतिमा विचलन, एक अर्थमा भुत्ते खुकुरी जस्तै बन्दैजाँदा पार्टीले यो दुर्दशा भोग्न पुगेको छ । के यो आठौं महाधिवेशनले नेकपा माओवादी केन्द्रलाई अब पुरानै अवस्थामा फर्काउन कोशेढुङ्गा सावित होला त !