काठमाडौं – माओवादी केन्द्रको आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्रका लागि व्यवस्थापनमा चुनौती देखिएको छ । कमलादीस्थित प्रज्ञा भवनको हलमा नै बन्दसत्र आयोजना गरिने भएता पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएका कारण व्यवस्थापनमा चुनौती देखिएको हो । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

महाविधेशनमा एक हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैह्र–भौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ । बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यतालिका रहेको छ ।

माओवादी केन्द्रको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने बताएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिरहेको बताएको छ ।