काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गर्दै प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधासभाबाट गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशी संविधान बनेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काङ्ग्रेसले गरेको थियो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

माओवादी केन्द्रको आठौं राष्ट्रिय माधिवेशनको उद्घाटनमा समारोहमा प्रधानमन्त्री देउवासहितका नेताहरुले झण्डै तीन घण्टा बिताउनुभयो । अन्तिम वक्ता प्रचण्डभन्दा अगाडि सम्बोधन गर्नुभएका देउवाले माओवादी अध्यक्ष दाहालको खुलेर तारिफ गर्नुभयो ।