काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा विद्यमान असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको ८ औँ महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राजनीतिक दलहरु शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरुलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्न सकिने बताउनुभयो । अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरुलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसोभए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ ।

राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहारलाई जनताले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल हुनुपर्छ ।’

अध्यक्ष नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन, नेपाली जनताको हितको लागि हुनुपर्ने बताउनु भयो ।