काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माणका लागि सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दे राष्ट्रपति भण्डारीले यस्तो आव्हान गर्नुभएको हो ।

सन्देशमा उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । ज्येष्ठ नागरिकलाई घर, परिवार एवम् समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ ।

सन्देशमा भनिएको छ जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र अनुभवका खानी समेत हुन् । तसर्थ ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माणका लागि सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्दछु ।

बिज्ञप्तिमा भनिएको छ नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सीट आरक्षण‚ सवारी भाडामा ५० प्रतिशत छुट‚ स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट‚ ज्येष्ठ नागरिक परिचय–पत्रको व्यवस्था‚ सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सार्वजनिक सेवामा छुट‚ सहुलियत र सुविधाको व्यवस्था समेत गरेको छ । यी कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सबैमा आग्रह गर्दछु ।

बिज्ञप्तिमा भनिएको छ माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णय बमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।