काठमाडौं – माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सबै तयारी पूरा भइसकेको माओवादीले जनाएको छ । माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको हो । हिजो बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिसकेको छ । आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ र यसलाई आठौँ महाविधेशनको नाम दिइने बताइएको छ ।

रुपान्तरित महाधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा दिउँसो १ बजे पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुहुनेछ । उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुने माओवादीले जनाएको छ । यस अघि सम्मेलन तीन दिनसम्म चल्ने भनिएको सम्मेलन पाँच दिनसम्म लम्बिन सक्ने बताइएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक हितमान शाक्यका अनुसार राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गर्ने निर्णय भएकाले उद्घाटन समय भने केही ढिलो हुनेछ र अन्य राजनीतिक दललाई पनि आमन्त्रण गरिने छ । यसअघि राष्ट्रिय सम्मेलन भएका कारण विदेशी पाहुना र अन्य पार्टीबाट शुभकामनाका लागि नबोलाउने निर्णय माओवादी केन्द्रले गरेको थियो ।