काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा पहाडी भू–भागको एक वा दुई स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

तराई भूभागमा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । मौसम विभागका अनुसार अहिले सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशको गण्डकी लुम्बिनी, कर्णालीर सुदुरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । दिउँसो पहाडी भू–भागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको संभावना र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।