फाइल तस्वीर ।
काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भोलि पुष १० गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । पार्टीको शनिबार बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली काङ्ग्रेस, एमालेलगायतका दलहरुले महाधिवेशन गरिसकेको हुँदा माओवादी केन्द्रले अहिले राष्ट्रिय सम्मेलन गर्ने र नौ महिना पछि महाधिवेशन गर्नु पर्ने भएकोले भोलिदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागेको हो । माओवादी केन्द्रले तल्ला समितिहरुको अधिवेशन गरिसकेकोले त्यहाँबाट आउने प्रतिनिधिहरुनै राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रुपमा आउने भएकाले पनि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको स्थायी समितिका एक सदस्यले बताएका छन् ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्नका लागि भोलि महाधिवेशन सुरुहुनु अघि बिहान ८ बजे केन्द्रीय समितिको बैठक बस्ने र यसबारे औपचारिक निर्णय गर्ने स्थायी समितिका सदस्य एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।