फाइल तस्वीर
काडमाडौं– राष्ट्रियसभा सदस्यको लागि अगामी माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दलहरु दर्ता भएका छन् । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि पुष १० गते शनिबारसम्म तोकेको थियो ।

आयोगमा दर्ता भएका दलहरुमा हिजो शुक्रबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी(जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले निवेदन दिएका थिए । त्यस्तै शनिबार नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, र नेपाल परिवार दलले निर्वाचनमा भाग लिन पाऊँ भन्दै दल दर्ता गराएका हुन् ।
रआयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ । आयोगको बैठक डाकेर ती दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई सोही जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ ।