फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज शनिबार बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
प्रधानमन्त्री समेत रहनुभएका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई अहिले ११ बजे निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम रहेको छ । त्यसपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनु भएको छ । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

काङ्ग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था छ ।

कांग्रेसले बैठकको निर्णयसहित आज नै निर्वाचन आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन छ । आयोगले यस अघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सो विषय सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।