फाइल तस्वीर
काठमाडौं— नेकपा (माओवादी केन्द्र) ले पर्सी आइतबारदेखि राजधानीमा हुन राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि टुङ्ग्याएको छ । आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकले प्रतिनिधि टुङग्याएको हो ।


यसैगरी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार नियमित प्रक्रियाबाट आएका १ हजार चार सय ८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने भएको छ । यसअघि ५ प्रतिशत मनोनयन गर्ने भनिएकोमा आज बसेको स्थायी समितिको बैठकले त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।


स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता महराले बताए अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादी केन्द्रले यसअघि सम्मेलनमा एक हजार ५ सय ३३ प्रतिनिधि हुने बताएको थियो । अब १० प्रतिशत बढाउँदा त्यो सङ्ख्या १६ सय ८ जना हुने भएको छ ।

नेकपा माओवादीकेन्द्रको अर्को बैठक भोलि शनिबार पनि बस्ने भएको छ । अध्यक्ष प्रचण्डले स्थायी समितिमा पेश गर्नुभएको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने बताइएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुष ११ गते आइतबारदेखि १३ गतेसम्म काठमाडौमा हुँदैछ ।