काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणको रोकथापका निम्ति लगाइने खोप नेपालमा आउनेक्रम जारी छ । सोही अनुरुप कोभ्याक्स सुविधा अन्तर्गत आज शुक्रबार ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यक्रम रहेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।

कोभ्याक्स सुविधामा पाएको उक्त खोप प्रदेश नम्बर एक को झापा, मोरङ र सुनसरी, प्रदेश दुईको सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिइने छ ।
पछिल्लो समय देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोम’ को विरुद्ध पनि बुष्टर डोज उपयुक्त हुने भएकोले नेपाल सरकारले बुष्टर डोज लगाउने बारेमा छलफल भैरहेको छ ।