काठमाडौं– दशवर्षे सशस्त्र युद्धमा होमिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (तात्कालिन नेकपा माओवादी) नेपाली राजनीतिको मूलधारमा आएपछि पनि केन्द्रविन्दु मै छ । माओवादी केन्द्रले पुष ११ गते आइतबारदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । एमाले, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टीहरुले महाधिवेशन गरिसकेको बेला सत्ताघटक दल नेकपा माओवादी केन्द्रले भने राष्ट्रिय सम्मेलन गरेर समाजवाद उन्मुख समृद्धिको कार्यनीति ल्याउन लागेको छ ।


अन्य राजनीतिक दलहरुले महाधिवेशन गर्दा केवल पदीय निर्वाचनमा केन्द्रीत भैरहँदा नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गरेर पार्टीको कार्यनीति ल्याउन लागेको देखिन्छ । बहुदलीय प्रतिस्पर्धामा रहेका सबै राजनीतिक दलहरुको सिद्धान्त, विचार र भावि कार्यदिशा के त भन्ने प्रश्न उठिरहेको बेला स्वयम माओवादी केन्द्रले बोक्दै आएको सिद्धान्त, विचार र पार्टीको कार्यदिशा समेत भुत्ते भैसकेको र नव संशोधनवादी धारलाई अङ्गाल्न पुगेको आरोप लाग्दै आइको छ ।


यसैबीच पुष ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिस सम्मेलनबाट के नेकपा माओवादी केन्द्रले आफुलाई पुनः क्रान्तिकारी सिराबाट उठाउन सक्ला त ! यसले राष्ट्रिय राजनीतिलाई नै तरङ्गीत बनाउला त ? यसतर्फ आम बुद्धिजीवी, समाजका हरेक तह र तप्का र अन्य राजनीति दलहरुले संसय रुपले हेरिरहेका छन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यतिबेला पार्टीलाई ‘रिभाइज् र रि–स्टक्चरिङ’ गर्न राष्ट्रिय सम्मेलनका लागि प्रतिवेदन तयार गर्नुभएको छ । नेकपा माओवादी केन्द्रको विचार र पार्टीको कार्यदिशा भुत्ते भैसकेको भन्ने आरोप लागिरहेको बेला अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्नुहुने प्रस्तावले के नेपाली कम्युनिस्ट आन्दोलनका निम्ति नयाँ उज्र्जा प्राप्त होला त ? यो त भविष्यले देखाउला ।


नेकपा माओवादी केन्द्र मूलधारको राजनीतिमा आएपछि चिराचिरामा विभाजित भएको छ । हिजो पार्टीले अङ्गीकार गरेका विचार, नीति र कार्यदिशा सबै खिया लागेको छ । अब अध्यक्ष प्रचण्डले खिया लागेको विचार, नीति र कार्यदिशालाई उद्याउने र चिराचिरामा विभाजित भएका माओवादी शक्तिलाई एकत्रित गर्ने हिम्मत गर्नुपर्छ । त्यसका लागि पूँजीवादी ढर्राहरुलाई त्याग्न सक्नु पर्छ । अध्यक्ष प्रचण्डले मूलधारको राजनीतिमा आइसकेपछि भुईंको टिप्न खोज्दा गोजीको पोखिएको र गोजी नै रित्तिने अवस्थामा पुगेको कुराप्रति आत्मालोचित हुनेपर्ने हुन्छ । प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने प्रतिवेदनमा हिजोका आफ्ना सहकर्मीहरुलाई माओवादी केन्द्रमै फर्किन आग्रह गर्ने कुरा उल्लेख छ ।


नेकपा माओवादी केन्द्रलाई कान्तिकारी पार्टी र विचार निर्माण गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको अभिव्यक्ति पूर्वसभामुख एवम् पार्टीका प्रवक्ता कृष्णबहादुर महराले तीन दिन अघि आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभएको थियो । पुष ११ गते सुरुहुने सम्मेलनमा पार्टीले विगतमा गरेका कमीकमजोरीहरु र उपलब्धीहरुको समीक्षा पनि गर्ने बताइएको छ ।


नेकपा माओवादी केन्द्रले पार्टीलाई नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि राष्ट्रिय सम्मेलन कोशेढुङ्गा सावित हुने बताएको छ । माओवादी केन्द्रको विचार र कार्यनीति निरन्तर स्खलित हुँदै आएको छ । पार्टीलाई विचार प्रधान बनाउनु पर्नेमा व्यक्ति प्रधान हुँदै गरेको छ हरेक पार्टीमा । नेताहरुले आफुलाई पशुपतिनाथ देवता जस्तै देवत्वो बोध गर्नुले पनि देशमा राजनीतिका नाममा कुसंस्कृतिको राजनीतिक मौलाएको छ । कार्यकर्तालाई आफ्ना पुजारी भक्त देख्ने प्रवृत्तिले हरेक राजनीति पार्टीमा इमान्दार नेता कार्यकर्ताहरु पाखा लागेका छन् । नेतृत्वले आफ्ना वरिपरि घुम्ने, चाकडी गर्ने, आर्थिक लाभमा केन्द्रीत हुँदा हरेक पार्टीमा माफियाहरुको प्रभाव बढ्दै गएको छ । यस्ले गर्दा पनि राजनीतिक पार्टीहरुभित्र धमिरा लाग्दै गएको छ ।


अहिले नेकपा माओवादीको राष्ट्रिय सम्मेलन तीन कुरामा केन्द्रीत देखिन्छ । पहिलो, अध्यक्ष प्रचण्डले लेख्नुभएको राजनीतिक प्रतिवेदन, त्यसमाथिको छलफल र अनुमोदन । दोस्रो पार्टीको आन्तरिक विधान –२०७८ अनुमोदन र तेस्रोमा केन्द्रीय नेतृत्व चयन । माओवादी केन्द्र पुनः बहुपदीय संरचनामा जाँदैछ । तर त्यो संरचना कस्तो हुने भन्ने कुरा सार्वजनिक भैसकेको छैन ।