काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुहुने दस्तावेजमा छलफल गर्न स्थायी समितिको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो आइतबारदेखि तीन दिनसम्म राजधानीमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको दौरानमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आउनु भएको छ । त्यसका लागि अध्यक्ष प्रचण्डले करिब दुई सातादेखि दस्तावेज लेखनको काम व्यस्त रहनु भएको थियो । दस्तावेज लेख्नेकाम आज सकिएकोले सोही दस्तावेज स्थायी समितिमा छलफल गरेर त्यसलाई अन्तिम रुप दिन माओवादीले स्थायी समितिको बैठक बोलाइएको हो ।

माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सम्मेलनका विविध पक्षबारे छलफल गर्न भोलि शुक्रबार बिहान साढे ८ बजे स्थायी समितिको बैठक बस्ने भएको छ । कार्यालय सचिव ढकालका अनुसार बैठकमा सम्मेलनका विविध पक्षबारे छलफल हुन्छ, त्यसमा अध्यक्षको डकुमेन्ट पनि पर्नसक्छ ।