फाइल तस्वीर

काठमाडौं – गत कार्तिक ८ गतेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसनले महाअभियोग लाग्नसक्ने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज सर्वोच्च परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा उक्त धारणा व्यक्त गर्नु भएको हो ।

नेपाल बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको भन्दै संसद्मा प्रधानन्यायाधीश जबराको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने दावि गर्नुभएको छ ।
न्यायपालिकाको गरिमा कायम राख्न, न्यायपालिकालाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउनको लागि सरकारदेखि प्रतिपक्षसम्मले विशेष पहल गर्नु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभएको छ । पत्रकारहरु संक्षिप्त कुरा गर्दै अध्यक्ष श्रेष्ठले ‘हामीले आवाज उठाउँदै आएका छौं । यसतर्फ दलका नेताज्यूहरुले ध्यान दिनुभएको हो कि भन्ने सङ्केत हामीले पाएका छौं । चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ’ भन्नुभएको छ । ‘प्रधानन्यायाधीश जबराले चाहेअनुसारको बर्हिगमन गराउने एउटा अर्को बाटो हो, संसद । अहिले संसद पनि चलिराखेको छ र त्यहाँ छिट्टै छलफल हुन्छ । त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ’– नेपाल बारको अध्यक्ष श्रेष्ठ भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बार एशोसियसनले गरेको विरोधको कार्यक्रम निरन्तर भैरहने भन्दै न्यायपालिकाको आस्था कायम राख्न, सेवाग्राहीहरुलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि बार एसोसियसन वाचडगको रुपमा रहेको दावी समेत गर्नुभयो ।


कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएसनले आन्दोलनका क्रममा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु राजनीतिका शीर्ष नेताहरुलाई भेटेर प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाउन आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानन्यायाधीश विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश नहुने भन्दै केही दिन पहिले फर्काइदिनु भएको थियो । यता सत्ता गठबन्धन दलहरुभने यस विषयमा खासै बोलेका छैनन् । नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अदालतको कुरा सकेसम्म अदालतमै सल्टिनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।