लक्ष्मी बास्कोटा


सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रुपमा लिने तयारी गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा परीक्षा हलमा उपस्थित हुनेगरी आगामी चैन या बैशाख महिनामा एसईई लिने तयारी गर्न लागिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा पनि महामरी फैलिएपछि विद्यार्थीको स्वास्थ्य र महामारीको सङ्क्रमणलाई ध्यान दिंदै २०७६ र २०७७ सालमा एसईइ परीक्षा भौतिक रुपमा सञ्चालन हुन सकेको थिएन । शैक्षिक सत्र खेर नजाओस् भन्ने अभिप्रायले नेपाल सरकारले यी दुई वर्षको एसईई परीक्षा विद्यालयले आन्तरिक रुपमा लिएको परीक्षको मूल्याङ्कनकाको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।


यसपटक पनि कोराना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सन्त्रासले विश्वलाई नै हल्लाइरहेको बेला नेपालमा यसको प्रभाव कस्तो हुन्छ भन्ने भन्न सक्ने अवस्था देखिंदैन । अहिलेसम्म नेपालमा ‘ओमिक्रोन’को सङ्क्रमण तीन जनामा मात्रै पुष्टि भएको छ । भोलिका दिनसम्ममा यसको प्रभाव कस्तो पर्छ, त्यो त हेर्न बाँकी नै छ । यद्यपि, अहिलेसम्मको अवस्थालाई हेर्दा चैत्र या बैशाखमा एसईई भौलिक रुपमा विद्यार्थीलाई उपस्थित गराएर लिने तयारी भैरहेको परीक्षा नियन्त्रण रुद्र अधिकारीको भनाइ छ । यसैसन्दर्भमा नियन्त्रक अधिकारी ‘अन्य केही कारणले रोकिएन भने र अहिलेकै स्थिति रहेमा परीक्षा समयमै हुन्छ, एसईई केन्द्रले नै लिने हो, त्यसको तयारी भैरहेको छ’ भन्नुहुन्छ ।


अघिल्ला दुई वर्षका शैक्षिक सत्रमा कोरोना भाइरसको महामारीले गर्दा एसईई परीक्षा भौतिकरुपमा सञ्चालन हुन सकेन । विद्यालयको आन्तरिक मूल्याङ्कन सानोठिमी स्थित परीक्षा बोर्डमा पठाएर सोको आधारमा एसर्ईई को नतिजा सार्वजनिक गरिएको थियो । त्यतिबेला विद्यालयहरुले जथाभावी नम्बर दिएपछि विवादित समेत भएले एसईई परीक्षा भौतिक रूपमै लिने तयारीमा बोर्ड पुगेको छ । परीक्षा नियन्त्रक अधिकारी परीक्षा कुन मितिमा गर्ने भन्ने कुरा निर्णय भैनसकेको बताउनुहुन्छ ।


सरकारले एसईई परीक्षा चैतमै गर्ने सोच बनाएता पनि अहिलेसम्म प्रश्नपत्रको मोडालिटी र छपाइ गर्ने काममा ध्यान दिएको देखिंदैन । विगतका वर्षहरुमा कार्तिक–मङ्सिर भित्रै प्रश्नपत्रहरु छाप्त काम भैसक्थे । यस वर्ष प्रश्नपत्र छपाइ गर्ने काम नभएको हुँदा अघिल्लो वर्ष नै छापिएका प्रश्नपत्र प्रयोग गर्ने योजनामा बोर्ड रहेको बुझिन्छ । गत वर्ष दुई करोड २८ लाख रुपैयाँ खर्च गरेर बोर्डले एसईईका लागि ५१ लाख ७४ हजार सेट प्रश्नपत्र छापेको थियो ।


अघिल्लो वर्ष छापिएका प्रश्नपत्रहरु त्रिभूवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सुरक्षित साथ राखिएको र एसईई परीक्षा दिने वातावरण सहज भए तिनै प्रश्नपत्रहरु प्रयोग गर्ने सम्भावना छ । यसैसन्दर्भमा परीक्षा नियन्त्रक अधिकारी ‘गत सालकै प्रश्नपत्रहरू पर्याप्त रहेकाले छाप्न हतार नगरिएको हो । पोहोरकै प्रश्नपत्र प्रयोग गर्न सकिने अवस्थामा छ, त्यसैलै प्रश्नपत्रको समस्या हुँदैन’ भन्नुहुन्छ ।
बोर्डका अनुसार यस वर्ष एसईई परीक्षा दिनका लागि पाँच लाखभन्दा विद्यार्थीले आवेदन दिएका छन् । अहिले बोर्डमा प्राप्त आवेदनहरु इन्ट्री गर्ने काम भइरहेको छ । आएका आवेदनहरु सबै इन्ट्री गर्ने काम सकिएपछि मात्रै के कति सङ्ख्यामा विद्यार्थी एसईईमा सहभागी हुन्छन् भन्ने थाहा हुने बोर्डको भनाइ छ ।