काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशहरूका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा राति हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ मौसमविद्ले जानकारी दिएका छन् । तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।