काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।

जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्ने उल्लेख गर्दै मन्त्री खतिवडाले सर्वसाधारणलाई सहज हुने गरी खोप केन्द्रमार्फत सरकारले निःशुल्क खोप उपलब्ध गराउँदै आएको बताउनुभयो । सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ । उहाँले सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गर्नुभयो । मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ । यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सीक्योन्सिङ  गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म दुई करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा खोप लगाइएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । एक मात्रा खोप प्राप्त गर्नेको सङ्ख्या एक करोड २२ लाख ५१ हजार १ सय ८३ र पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९७ लाख ३७ हजार ३ सय ३३ रहेको छ । रासस