काठमाडौं– नेपाली काङ्ग्रेसको भरखरै सम्पन्न १४ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा यही पुष १० गते शनिबार पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।


केन्द्रीय कार्यसमितिको बैठक हुनु अघि पुस ९ गते शुक्रबार पार्टीको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।


प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले सोहीदिन पदभार ग्रहण गर्नुहुने छ । हालैसम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट पार्टी सभापति र १३ जना पदाधिकारी सहित एक सय २१ जना केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् । महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् । अहिलेसम्म पदाधिकारीसहित ९७ जनाको नजिता आइसकेकोे छ ।

बाँकी ३७ सदस्यहरुको मतगणना सानेपास्थित पार्टी कार्यालयमा भैरहेको छ । भोलि बिहिबार १ बजेसम्म बाँकी सदस्यहरुको मतगणना भै नतिजा समेत सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । सबै मतगणनाको परिणाम भोलि आएपछि ९ गते शुक्रबार प्रमाणपत्र वितरण गर्न तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताए ।