जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल एमालेलाई जनता आफैँले दण्डित गर्ने बताउनुभएको छ । आज बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले संसद् चल्न नदिए एमालेलाई जनता आफैँले दण्डित गर्ने बताउनुभएको हो । अध्यक्ष भट्टराईले महिनौंसम्म संसद् अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको टिप्पणी गर्नुभयो ।

गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसद् अवरुद्ध गरिरहनु रहेको जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईको भनाइ छ । भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीभित्र तर्क वितर्क गर्ने रहेको बताउनुभयो ।
अध्यक्ष भट्टराईले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको टिप्पणी समेत गर्नुभयो ।