बनेपा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । उहाँले स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको बताउनुभयो ।

छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाँको भनाइ छ । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुनेसमेत बताउनुभयो । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु गरेको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उहाँले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताउनुभयो । पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःखसुख बिसाउने, आपत विपद्मा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाउनुभयो ।

सोहि क्रममा उहाँले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको बताउनुभयो । रासस