जनकपुर – गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । आज जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै त्यसलाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको हो ।

उहाँले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि उल्लेख गर्नुभयो । गृहमन्त्री बालकृष्ण खाँणले भन्नुभयो, ‘एमसीसी पूर्ववर्ती सरकारका पालामै अघि बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।’

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो । दलहरूबीच छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’