काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवाको बैठकमा नजान कानुन मन्त्रालय र महान्यायाधीवक्ताको कार्यालयलाई नेपाल बार एशोशिएसनले खबरदारी गरेको छ । प्रधानन्यायाधीश जबरा आफनो कार्यसम्पादनमा पूर्ण असफल भइसकेकाले अब उनले बोलाएको न्याय सेवाको बैठकको कुनै औचित्य नहुने भन्दै बारले बैठकमा नजान खबरदारी गरेको हो ।

जबराको राजीनामा माग्दै भएको विरोधसभालाई सम्बोधन गर्दै सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष पूर्णमान शाक्यले अन्यथा आफूहरूले पनि कडा जवाफ दिने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराले भोलि न्याय सेवाको बैठक डाकेका छन् ।

बार एशोशिएसनका अध्यक्ष पूर्णमान शाक्यले भन्नुभयो, ‘भोलि त्यो बैठक नहोस् । हामीले प्रधानन्यायाधीश आफ्नो कार्य सम्पादनमा पूर्ण असफल भइसके भनिसकेपछि अब उनको कुनै महत्त्व छैन । त्यो बैठक भोलि भएमा हामी पनि आफ्नो तरिकाले जवाफ दिन्छौँ ।’