काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको छ । देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता अहिले नामावली सङ्कलन कार्य भइरहेको छ । नामावली संकलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावलीमा दर्ता, व्यवस्थापन, समावेशीजस्ता विषयका सम्बन्धमा उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस कार्यमा सहयोग पु¥याउन सम्पूर्ण सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको जनाएको छ ।

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र अन्य जिल्लाका स्थानीय तहमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भई दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आफ्नै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्नसकिने व्यवस्था मिलाइएको छ । आयोगले आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने स्पष्ट पारेको छ ।

आयोगले गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था गर्न भनेको छ । मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहसमक्ष सहयोग उपलब्ध गराउनका लागि अनुरोध गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । रासस