काठमाडौं – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनुहुनेमा डा.डिला पन्त सङ्ग्रौलाले २ हजार ८ सय २५, पुष्पा भुसालले २ हजार ७ सय १८ र डा.आरजु राणा देउवाले २ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।

यसैगरी अम्बिका बस्नेतले २ हजार ३ सय ३९, ईश्वरी न्यौपानेले २ हजार २ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १ हजार ८ सय ५८, सुशीला ढकालले १ हजार ८ सय १४ र रङ्गमती शाहीले १ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । सचिव रिजालले अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको जानकारी दिनुभयो । आज मङ्गलबार खस आय, आदिवासी जनजातीको मतगणना हुने उहाँले बताउनुभयो । त्यसपछि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना हुने छ । मतगणना सकिन अझै दुई वा तीन दिन लाग्ने निर्वाचन समितिले बताएको छ ।