काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर एमसीसी पास गर्न अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिने बताउनुभएको छ ।आज समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउनेतर्फ आफुहरु लागिरहेको बताउनुभयो ।

‘हामी प्रतिगमनलाई निर्णायक ढङ्गले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । एमाले अध्यक्ष ओलीले विभिन्न चालबाजी गरेर टुटाउन खोज्नुभएको छ, त्यो सफल हुनेछैन’, प्रचण्डको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा पटक–पटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर नहुने र टुटाउन नदिनेबारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेकोपनि बताउनुभयो ।

गठबन्धनको पटक–पटकको छलफलमा प्रधानमन्त्री देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गर्नुभएको प्रचण्डको भनाइ छ । उहाँले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई सहि ट्रयाकमा हिँडाउने प्रयास गरेको पनि उल्लेख गर्नुभयो ।