काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्नै नसकेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताउनुभएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, “प्रचण्ड सोझो हुनुुहुँदो रहेछ । केपी ओलीलाई चिन्नै सक्नुभएन । म त हत्तु भएर बसेको मान्छे । अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।” उहाँले भननुभयो, ‘प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अब मेरो पालो भन्नुपर्थ्यो नि । केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गर्नुभयो । अध्यक्ष नेपालले ओलीले पटक–पटक संसद विघटन गरेर नेकपालाई विभाजन गरेको भन्दै उनी बामपन्थी नभएको टिप्पणी गर्नुभयो ।

‘केपी ओलीको बामपन्थ होइनन रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।’ एस का अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँचवटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताउनुभयो । नेता नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने सबैको चाहना रहेको उल्लेख गर्नुभयो ।