काठमाडौं – त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाजको विकास र रुपान्तरणमा समेत सहयोगी हुनुपर्ने बताउनुभएको छ । आज त्रिविको ४७ औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ । आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ ।’

विश्वविद्यालयबाट ग्रहण गरेको ज्ञान र सीप देशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज तपाईंहरुको अनुहारमा मैले नेपालको सुन्दर मुहारको प्रतिबिम्ब देखिरहेको छु । तपाईंहरुले विश्वविद्यालयबाट ग्रहण गरेको ज्ञान र सीप बोकेर उत्पादनशील कार्यमा ऊर्जा लिएर जाँदै हुनुहुन्छ । भोलि देशलाई कुन दिशामा लैजाने हो त्यो तपाईंहरुको सोच अठोट र कर्ममा निर्भर छ ।’समारोहमा सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, उपकुलपति डा.धर्मकान्त बास्कोटाले विश्वविद्यालयको शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा २९ हजार ७ सय २९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ साल असार १ गतेदेखि २०७८ जेष्ठ ३२ सम्म ट्रान्सक्रिप्ट लिएका ५९औँ ग्रेसलिस्टमा समावेश भएका विद्यावारिधी, डीएम÷एमसीएच, दर्शनशास्त्र, स्नातकोत्तर र स्नातकका गरी जम्मा २९ हजार ७ सय २९ जना विद्यार्थीहरु दीक्षित भएका हुन् ।