काठमाडौं – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार त्यहाँबाट १२ लाख १ हजार ८ सय ८७ मात्रा खोप आउन लागेको थियो । यस्तै, आजै भारतबाट पनि १८ लाख ७० हजार ५ सय मात्रा खोप आउन लागेकोे छ ।

कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताएका छन् । नेपालमा ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० मात्रा खोप आएकामा अहिलेसम्म २ करोड १६ लाख ५४ हजार १ सय ९ मात्रा खोप लगाइसकिएको छ । रासस