फाइल तस्वीर

रौतहट – दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका छन् । गएराति फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

उनको मृत्युपछि पीडित परिवारको रोहवरमा मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनुपर्नेमा त्यसो नगरी इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको भन्दै स्थानीयवासी प्रदर्शनमा उत्रेका हुन् ।

प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन भूमिका खेलेको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा भएको बताएका छन् । त्यसक्रममा दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।

गएराति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना ८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालकलाई आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ ।