काठमाडौं– पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाखभन्दा बढी मतदाताहरु थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजार नयाँ मतदाताको नाम दर्ता भएको छ ।


पहिलो चरणमा तीन सय १९ वटा पालिकामा मतदाता नामावली दर्ता सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार हिमाली जिल्लाका बाँकी रहेको पालिकाहरुमा मङ्सिर २९ गतेदेखि नै दोस्रो चरणको नामावली दर्ता गर्ने कार्य सुरु भइसकेको छ । हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ ।


निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि देशैभरिका पालिकाहरुमा पुुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो । दोस्रो चरणमा हाल तीन सय १८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।


तराई मधेसका अधिकाङ्श पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गर्नुभएको छ ।

प्रवक्ता पौडेलले भन्नुुभयो,‘नामावली दर्ता वर्षैभरि जारी रहने स्थानमा पुुग्न असमर्थ हुने तथा चुनावलाई दृष्टिगत गरी विशेष अभियान चलाइएको छ, अब दर्ता नै नहुने भने हैन ।’ प्रवक्ता पौडेलले भन्नुुभयो, ‘तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मङ्सिर १७ गते सुरु भई पुस २ गते पहिलो चरणको नामावली दर्ता सम्पन्न भएको छ ।’ आइतबारबाट तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मतदाता नामावली दर्ताको दोस्रो चरणको कार्य सुरु भएको छ ।निर्वाचन आयोगले भने विशेष अभियान सकिए पनि ‘आउट डिस्ट्रिक्ट रजिस्ट्रेसन’ जारी रहने प्रस्ट्याएको छ । ‘तर ओडीआर जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुनेछ,’ आयोगका प्रवक्ता पौडेलले बताउनुुभयो ।