फाइल तस्वीर
काठमाडौं– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुङ्गो लगाउन पाँच दलीय गठबन्धनले तीन सदस्यीय एक कार्यदल गठन गरेको छ । गठबन्धन दलको आज दिउँसो बसेको बैठकले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली काङ्ग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

गठबन्धनको बैठकले एमसीसीका सम्बन्धमा टुङ्गोमा पुग्नेगरी काम गर्न तीन नेतालाई जिम्मेवारी दिएको छ । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।

तीन सदस्यीय कार्यदलको नेतृत्व गर्नुभएका वरिष्ठ नेता खनाल यसअघि तात्कालीन नेकपाद्वारा गठित एमसीसी सम्बन्धी तीन सदस्यीय कार्यदलको पनि संयोजक रहनुभएको थियो । उक्त कार्यदलका अन्य सदस्यमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य हुनुहुन्थ्यो । वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आउनु भएको छ । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा हुनुहुन्छ भने कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने एमसीसी सम्झौताका हस्ताक्षरकर्ता भएकाले उहाँ त्यसलाई पास गर्ने पक्षमा हुनुहुन्छ ।


नेपाली काङ्ग्रेस बाहेकका राजनीति दलहरुले एमसीसी यथास्थितिमा पास गर्न नहुने भन्दै आएका छन् । त्यसो त एमाले सरकारमा भएको बेला तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट पास गराउन जोडबल गर्नु भएको थियो । तात्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी परियोजनालाई संसदमा पेश गर्न नमानेपछि उहाँमाथि यौन प्रकरणको मुद्दा लाग्यो र सभामुख पदबाटै राजीनामा दिनु पर्यो । अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमालेले एमसीसीको सम्बन्धमा अस्पष्ट धारणा राख्दै आएको छ । उसले सरकारको स्पष्ट धारणा नआउँदासम्म यस विषयमा नबोल्ने बताउँदै आएको छ ।