काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेर अघिमात्रै सर्वदलीय बैठक सुरु भएको हो ।


प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

सर्वदलीय बैठकअघि सत्ता गठबन्धनहरुबीच सोही विषयमा विस्तृत छलफल भएको थियो । सत्तागठबन्धनमा रहेका नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौतामा परिमार्जन गरेर प्रकाशित गर्नुपर्ने बताइरहेका छन् ।
प्रधानमन्त्रीले डाक्नु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी सहभागी नहुने जानकारी गराएको थियो ।