काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनुभएको छ । आज फेसबुकमार्फत उहाँले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताउनुभएको हो ।

जसपा अध्यक्ष यादवले लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको बताउनुभएको छ । ‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुन्’ उहाँले भन्नुभएको छ, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् । यादवले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ? तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्दछ ।’ जसपा अध्यक्ष यादवले निर्वाचन आयोग र सरकारले नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा समावेश गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।