फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिनेलियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र संसदमा उत्पन्न गतिरोध हल गर्न आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आइतबार दिउँसो ४ बजे बैठक बस्ने गरी सर्वदलीय बैठकमा बोलाउनु भएको हो ।


बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ ।


संसदको कामकारवाही नै प्रभावित हुनेगरी प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकलाई लामो समयदेखि अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसदले विजनेश पाउन सकेको छैन । गत मङ्सिर २८ गते बैठक बोलाएपछि एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनु पर्नेभन्दै राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएपछि आज आइतबार प्रधानमन्त्री देउवाले बालुवाटारमा सर्वदलीय बैठकको आयोजना गर्नुभएको हो । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) को उपस्थिति हुने भएकाले एमालेले उक्त बैठक बहिस्कार गर्ने जनाइसकेको छ । एकीकृत समाजवादी एमालेबाट चोइटिएर बनेको दल हो ।