काठमाडौं – सरकारले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको संशोधन प्रस्ताव आजको क्याबिनेट बैठकले स्वीकृत गरेको हो । मन्त्री परिषद्ले शिक्षक सेवा आयोगको प्रस्ताव स्वीकृत गर्दै शिक्षा समिति पठाएको प्रस्ताव आज स्वीकृत गरे संगै आयोगको नियमावलीको ११ औं संशोधन भएको छ ।

११ औं संशोधनले शिक्षक छनोटका लागि नयाँ प्रावधान गरेको छ । शिक्षक सेवा आयोगको १० औं संशोधनले मूल नियम १८ मा सामान्य परीक्षा १००, विषयगत परीक्षा १००, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ गरी पूर्णाङ्क कायम गरेकोमा ११ औं संशोधनले बढुवा प्रयोजनका लागि विषयगत परीक्षा १०० प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ हुने गरी संशोधन गरेको छ ।

त्यस्तै नियम ३८ मा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित तथा अन्तरवार्ताको अङ्क विभाजन तथा अन्य व्यवस्था खुल्ला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ भनि उल्लेख गरिएको थियो । नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो ।

सूचना अधिकारी मरहठ्ठाका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो । मन्त्री पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि क्याबिनेट समितिमा पठाइएको थियो । नियमावली संशोधन संगै आयोगलाई शिक्षक छनोटका लागि अब सबै खाले बाटो फुकेको छ ।

आयोगले अब सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दीमा नयाँ शिक्षक छनोटका लागि समेत अनुमति पाएको छ । आयोगले नियमावली संशोधन अगाडि नै माध्यमिक तहका लागि खुला तर्फको विज्ञापन गरिसकेको छ ।