काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउने लगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुट्नुभएको छ । आज सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा प्रधानमन्त्री देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गर्नुभएको हो ।

अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चापलाई कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकबारे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आजै प्रधानमन्त्री देउवाले भेटी उक्त विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइउको छ । अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने देउवाको तयारी रहेको छ । रासस